झाँक्री भनेर त सुन्नुभएकै होला तर एउटै गाउमा सैयौको संख्यामा झाक्रीहरु भनेर सुन्नु भएको छ ? अनि सैयो झाक्रीहरुको एकसाथ् भेलाभएर मनाइने झाक्री पर्बको बारेमा सायद धेरै थोरैले सुनेका होलान | आज यही झाक्री पर्बको जानकारीका साथै यसको इतिहासको बारेमा छ |
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व भूमे गाउँ पालिकाको एक सुन्दर गाउँ हो लुगुम | अधिकांस मगर जातिको बाहुल्यता भएको यो बस्तिमा केहि दलित अनि गुरुङ को पनि बसोबास रहेको छ | आफ्नै भाषा अनि मौलिक संस्कृति जस्ता छुट्टै पहिचान बोकेको यो गाउँमा, आफ्नै बेग्लै किसिमको परम्परा अनि रितिरिवाजहरु पनि रहेका छन् | येही र यस्तै किसिमको परम्परा बिच झाक्री पर्ब पनि एक हो |
सामान्य अर्थमा परम्परागत रुपमा झारफुक गरि बिरामी निको पार्ने व्यक्ति भन्ने बुझिन्छ | तर यहा झाक्री निको पार्ने व्यक्ति मात्रै होइन इतिहास बोक्ने बुद्धिजीवि को रुपमा पनि लिइन्छ | लुगुम गाउँमा सयौ को संख्यामा झाक्रीहरु रहेका छन् | यहा पुरुष मात्रै नभई महिला झाक्रीको संख्यापनि उत्तिकै देख्न सकिन्छ | यो भन्दा अझै चाखलाग्दो त के छ भने, धेरै लामो समय देखि यहाको गाउँमा झाक्रीहरुको मेलानै लाग्ने गर्दछ, जसलाई झाक्री पर्ब पनि भानिन्छ |
२१औँ शताब्दीको उत्तरार्धमा पनि यो ठाउँमा झाँक्रीहरुको अस्तित्व रहनु बाहिरी दुनियाँका लागि अनौंठो हुन सक्ला तर यो ठाउँका लागि यो एउटा परम्परा हो, इतिहास हो, पर्व हो। साउने संक्रान्तिलाई अठार मगरात क्षेत्रमा तिवार/राँखे पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन् । यसै अवसर पारेर पुर्वी रुकुमको लुगुम गाउँमा हरेक बर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ त्यसै बारमा सबै थरका झाँक्रीहरू मिलेर ज्या: पलेन्ये रम्मा राम अर्थात भूत निकाल्ने झाँक्री उत्सव मान्ने गर्दछन् । जम्मा भएका झाँक्रीहरूले एक अर्काको ग्रहदशा फार्ने, हेराहेर गर्ने गर्दछन् भने गाउँका युवायुवती, राम्चेहरू र झाँक्रीका चुम्मी वा भान्जाहरूका बिचमा एकअर्कालाई सिस्नो हानाहान गरेर अति रमाइलो गर्ने गर्दछन् ।
किम्बदन्ति अनुसार पौराणिक कालमा एक ’काना सुरपाङ्खे’ नामक प्राकृत प्रेत आत्मा थियो । सो प्रेत आत्माले यो ठाउँ भएर आवतजावत गर्ने मान्छेहरूलाई सताउन थाल्यो । धेरै नै सताउन थालेपछि दिक्क भएर त्यसबेलाका घर्तिको शाखा र सिंजाकोट बाट आएका दर्लामी पुनले सो प्रेत आत्मालाई गाढ़ेका थिए । किरखोलाको किनारमा पर्ने मःझेरबाङ भन्ने स्थानमा त्यो आत्मा गाढ़िएको थियो । पछि त्यसलाई त्यहाँबाट निकालेर ठूलो लुगुम गाउँको खालीखोला किनारमा ल्याइ राखियो । आइन्दा कुनै पनि प्रकारले मानव आत्मालाई दुःख नदेओस् भनेर निगरानीमा राख्न ठूलो गाउँको नजिक सारिएको विस्वास छ । यही प्रेत आत्मालाई विचरण गर्न र गरिएको सर्त पुरा गरि वशमा पार्नलाई यो झाक्री पर्ब मनाइने गरिन्छ |
प्रक्रिया सुरु हुन्छ साउन १ गते बाट, लुतो फाल्ने दिन, राँका बालेपछि मौन अवधि सुरु हुन्छ । राँका बालेको दिन मकै, काँक्रो, फर्सी, सिमी, तामा लगायत घरमा उब्जाइने तथा जंगलमा पाइने खाद्य बालीहरू चढाउने गरिन्छ । खाम भाषामा राखे को पनि आफ्नै अर्थ रहेको छ । रा को अर्थ आगो र खे को अर्थ फाल्नु हो । यसरी यो दिन आगो बालेर प्रत्यक घरकाले फाल्ने गर्दछन । यो राँके प्रथाको महत्व लुतो फाल्ने एक रहेको छ भने अर्को चाही प्रेत आत्मा लाइ कम्जोर बनाउन पनि रहेको छ ।
झाक्रि पर्बको दिनमा झाक्रिको सहयोगि चुम्मीलाइ मुख्य सहयोगीको रुपमा लिइन्छ । घरबाटै निस्कनुपूर्व भूतप्रेतले केहि नगरोस भनेर झाक्रिले तन्त्रमन्त्रद्वारा आफ्नो र भान्जको शरिर बाध्ने गर्छन् । त्यसपछि भान्जले झाक्रिको सामान बोकेर नाच्ने ठाउँममा गई आगो बालेर ढ्याङ्ग्रो तताउने र नाच्ने गर्दछन् ।
त्यसको केहि समयपछि झाक्रिहरु बर्छा अर्थात् टेकाउने लिएर आउने गर्छन | झाक्रिहरु पहिले झाक्री पोशाक अर्थात छेर्ला नलगाएर नाच्ने गर्दछन | यसरी ९ फान्को नाचिसके पछी झाक्री पोशाक अर्थात छेर्ला लगाउने गर्छन | छेर्ला लगाएपछि तन्त्र मन्त्र गरि पित्रलाइ बोलाउने गरिन्छ र पित्र आत्मा आइसकेपछि झाक्री हरु काम्न थाल्छन | तेस्पछी एक अर्काले पिठ्युमा बोकी ग्रह दशा शान्त पर्ने गर्दछन | यति प्रक्रिया पुरा भएपछी फेरी ९ फन्का नाचिन्छ |यही दौरानमा सिस्नो हान्ने पनि गरिन्छ | सिस्नो हान्नु भनेको शरीरमा रहेका अदृश्य भूतप्रेतलाई धपाउनु हो त्यसैले कोही कसैलाई हानियो भने पनि रिसाउने गरिदैन् ।
नौ फन्का पुरा गरेपछि खाली खोलामा राक्से (भूत प्रेत) निकाल्न जान्छन् । त्यसका लागि मुख्य झाँक्रीले आफ्नो मन्त्र बाचा सहित उठाउन जान्छ । मन्त्र बाचा बिना उठाउन गएमा भुतप्रेतले झम्टिने भएकाले पाको झाँक्री मात्रै आफ्नो मन्त्र बाचा सहित जाने गर्दछन । खोलाबाट राक्से निकालेर आएपछि राक्षशको टाउकोमा सुरा ठोकिन्छ । मुख्य पालो पाएको झाँक्रीले राक्से निकाली दगुरेर गाउँ छिचोल्दै पश्चिमको झोलेनी बिसौनामा आएर बस्छ । मुख्य झाँक्री दगुर्दै आएपछि पछाडि पछाडि सबै झाँक्रीहरू पनि दगुरेर गाउँ पस्छन् । त्यसबेला हेर्ने दर्शकका लागि पनि मनोरम र उत्साहित दृश्य देखिन्छ ।
झाँक्रीहरू गाउँ पसेपछि घरघरमा गई मान्छेहरूलाई पिठ्युँ चढाउँदै जान्छन् । ज–जसले पहिला आफुलाई जानकारी गराउँछन्, तिनीहरूको घरमा जाने हुन्छ । अन्धाधुन्ध जो पायो त्यसको घरमा जाने हुँदैन। घरघरमा गएर कुखुराको टाउको छिनाएर रक्सि खानेले एक बटुको रक्सि र रक्सि नखानेले पानी खाने गर्दछ्न । एउटा कुखुरा सन्तानभरीको घरमा डुलाएर झोलेनी बिसौनामा गएर आफ्ना आफ्ना थरकाले रक्सि, रोटी सेल लगेका हुन्छन्, त्यहि खान्छन् । त्यहाँबाट आएर एउटा घरमा जम्मा भई साग खाने फुकाउछन् ।
थर्की अर्थात थला मा आएर नाँची आफ्नो आफनो थरको मुख्य झाक्रिको घरमा जम्मा भई फेरी अर्को कुखुरा खाएर घरमा जान्छन् । प्रेत आत्माबाट बचेको र फेरि पनि धेरै बाँच्ने कामना सहित सो अवसरमा करिब १ हजार हाराहारीमा गाउँभरि भालेको बलि चढाइन्छ ।
झाँक्री पर्बको भोलिपल्ट जुम्जुते हुन्छ । जुम्जुतेमा माटो निकाल्ने, रगतको बलि चढाउने लगायत कडा काम गर्नु हुँदैन र टाढाको यात्रा समेत गर्नु हुँदैन भन्ने बिश्वास रहेको छ । टाढा टाढा बसाइ सरेर गएका लुगुम्यालहरू मेला हेर्न आए भने जुम्जुतेको दिन फर्केर घर जाँदैनन् । सो दिन गाउँमा हिलो खेलेर बस्ने गर्छन् ।
हिलो खेल्ने दिनमा झाक्रिका भान्जहरु झाक्रि चालामा नाच्ने र हिलो हानेर हिलाराम मेला बनाउने गर्दछन् । हिजोको दिनमा टाउकोमा सुरा खोपेको राक्षशले मान्छेलाई फेरी नभेटोस, नचिनोस र नराम्रो नहोस भनेर हिलो छ्यापेर मान्छेलाई नचिनिने बनाईन्छ ।
समग्र गाउँ पालिकाका बस्तिहरुमध्य सबै भन्दा बढी संख्याको रुपमा झाक्रीहरु रहेको यो लुगुम गाउँमा झाक्रीको महत्व र बिसेश्ता सहित थुप्रै कथाहरु रहेको छ | यस ठाउँमा यो एउटा परापूर्वकालदेखि मानिदै आएको परम्परा हो । यस परम्पराले पर्यटनको क्षेत्रलाई पनि टेवा पुर्याउदै आएको छ । यस परम्परालाई पर्यटनको रुपमा थप विकास गर्न, प्रबर्धन गर्न र बचाइराख्न स्थानीय सरकारले बिशेष चाँसोका साथ् कदम अगाढी बढाएको पाइन्छ | आशा छ, आगामी दिनमा यो झाक्री पर्बले भूमे गाउँपालिकाको सांस्कृतिक पर्यटन क्षत्रलाइ अर्को उचाईमा लाग्नेछ | सुभकामना |
नोट: यो लेख स्थानीय झाँक्रीहरुसंगको अन्तरक्रिया, पर्यटन प्रबर्धनमा सक्रिय स्थानीय युवा दिलचन पुन र संस्कृति अध्यता तिलक रोका को सहयोगमा लेखिएको हो |