भूमे नाच शुरुवाटको ऐतिहासिकता
परापुर्व कालमा एक मगर वाहुल्यता भएको गाउँमा अल्पसंख्यक रुममा भाँडाकुँदा वनाउनलाई सिर्पाली वि.क. र कपडा सिलाउने र गाजावाजा वजाउने दमाईको को मिसावट थियो । खोलाको केही माथि गाउँवाट पानी लिन ठुला ठुला पहरहरु काटेर जान पर्दथ्यो । खोलमा पानि भर्न जाने क्रममा कुनै जोग पारेर मान्छे हराईरहेका हुन्थे । यसरी पानि भर्न जाने मान्छे हराउदै जाँदा गाउँ नै भाववेहुल भयो । यसरी गाउँ नै शोकमा दुवेपछि गाउँका मुखियाले गाउँ भेला वोलाई मान्छे हराएको पत्ता लगाउन गाउँका सवै जनालाई खताइन्छ । ५/६ जनाको टोली वनाएर पानी भर्न लगाउदा फर्कने क्रममा पछिल्लो पानि भरुवालाई पहरको मुनीवाट निस्केको सर्पले खाएको देख्छन् । यसरी सर्पले खाएको थाहा पाएपछी गाउँमा भेला भइ कसरी सर्पलाई ठिक वनाउन सकिन्छ भन्दा सिर्पाली वि.क. ले म त्यो सर्पलाई आफ्नो कावुमा ल्याउन सक्छु भनेपछि सिर्पाली वि.क. एक धार्नीको सनासो वनाएर पानी भर्न मान्छे पठाईन्छ र सर्प खान निस्केको वेला सनासोले सर्पको घाँटीमा अठ्याउछ र सिर्पालीले सोध्छ त को होस तैले किन मानव क्षती वनाईरहेको भन्दा सर्पले सिर्पालिलाई आग्रह गर्छ मलाई नमार मनुखे, म भूमी देवाता जेठको मसान्तको दिन दुध मात्र खाएर असार १ गते मलाई एक हाँसे भेडा लिएर पुजा गर्नु मैले मानव क्षती पानि गर्दिन र वाढी पहिरो पनि रोक्छु भनेपछि त्यही वर्षवाट पुजा गर्दा साथ कुनै मानविय क्षति भएन र दाहा पहिरो गएन । त्यसैले भूमी देवतामाथी विजय प्राप्त गरेको उपल्क्षमा भूमे पुजा, भूमे नाच शुरु भएको इतिहास वताउनु हुन्छ जान्कारहरु ।

ठाउँ अनुसार भूमे पर्वको नामाकरण
रोल्पा थवाङमा नामक, क्याङसी, महतमा झ्यामकरी र भलक, काँक्री, लुकुम तिर नोगोवाङे र भूमे । तकसेरातिर भुल्कु ।

भूमेको औपचारीक फुकुवा
भूमेको औपचारीक फुकुवा गाउँ अनुसार फरक हुने भएकोले एक रुपता भने छैन तर जस्ले जति गते भूमे पर्व फुकाएपनि जेठ महिनामै फुकाउछन् । कुनै गाउँमा जेठको १ गते कुनै गाउँमा जेठ १५ गते भने कुनै गाउमा पुन्नीको दिनमा फुकाउछन् । भूमे पर्व फुकाउदा गाउँका मुखिया प्रधान पञ्च कहाँ गएर जुलि धजा धार्नी रक्सीले ढोग गरि अनुमति मागे पश्चात दमाई कहाँ गएर गाजावाजा फुकाउने चलन छ ।

फुल टिप्न जाने
भूमे नाच फुकाउनु अगाडी युवायुवतिको एक भूमे नाच समुह वन्छ जस्को नाम ठाउँ अनुसार फरक हुन्छ । कुनै ठाउँमा नोगोवाङे, कुनै गाउँमा भल्क पसिने समूह । त्यही समूह जेठ मसान्तको अघिल्लो दिन रोटी,रक्सी लिएर दिउसो ४/५ वजेतिर लेक चढ्छन् । नाच्दै गाउँदे लेक चढेको समुहले डाँडा काँडा भरीभराउ वनाएको हुन्छ । लाग्छकी डाँडाको युवायुवतिको लस्कर मौसम अनुसार वसाईसर्ने मालचरिको समूह झै । नाच्दै उकाली काटेपछि ४/५ घण्टामा लेकको नजिक पुग्छन् र त्यही वास वसी रातभरी भूमे नाच झामरे गीत गाएर विहानको ३ वजाउछन् । ३ वजेतिर पुजारी उठेर लेकमा पुजा गर्न गए पश्चात वल्ल फुल टिप्न जाने समुह उकाली चढ्छन् । पुजा गर्नको अर्थ फुल टिप्न जाने समुहले जान वा अन्जाले जुठो पिटो भएमा माफी दिनु, फुल टिप्न आउने समुहलाई भिरवाट जोगाईदिनु,ढुंगावाट जोगाईदिनु, वुकी लाग्नवाट जोगाईदीनु भनेर पन्थ्यौली र लेकका शिद्ध देवतालाई पुकारे पछि फुल टिप्न जाने समुह भिर पाखामा छरिएर फुल टिप्न लाग्छन् । फुल टिपेर एक मुर्ला लिएर आफ्नो पन्थ्यौलीमा मुर्ला गाडेर आ-आफ्नो पन्थ्यौली घुमाई नाचेपछि नोगोवाङे समूह महिलाको पछ्यौरी जोडेर लामो वनाई घरतिर वाटो लाग्छन् ।

नाच्दै आउने क्रममा एक जलाकी भेटीन्छ त्यहाँ एक मुर्ला गाडेर नयाँ फुल टिप्न गएको व्यक्तीलाई उक्त जलाकी वोकेर घुमाउछन् । वुढापाकाका अनुसार वोकेर घुमाएपछि वोकी माग्नेलाई शुभ हुन्छ भनेर एक दुई पैशा पन्थ्यौली अथवा जलाकीमा चढाउछन् । केहि तल आएपछि युवतिहरु वुकीवाट टिपेर लिएको केही फुललाई माला वनाएर पुरुषको समुहलाई लगाइदिन्छन् । गाउँको नजिक आउँदा फुल माग्नेहरुको लस्कर हुन्छ । उनीहरु रक्सी, रोटीलिएर भोकाएर आएका फुल टिप्न जाने समुहलाई स्वागत गर्छन् । वुकीवाट फुल टिपेर आउने समुहले फुल माग्नेलाई फुल दिएर सम्मान गर्छन भने फुल शिरमा समेत लगाईलिन्छन् । थर्किमा पुगेपछि सवैलाई शिरमा फुल लगाएर सम्मान गर्छन् । केही चाला नाचे पश्चात फेरी गाउँ घुमेर नाची थर्कीमा आई त्यस दिन अन्त्य गर्छन् ।

असारको १ गते भूमे नाच्ने समूह थर्कीमा आएर नाच्दै गर्दा गाउँको जजिक थानमा पुजा शुरु हुन्छ र सवै भूमे नाच्ने समूह नाचो वन्द गरेर पुजा ठाउँमा जान्छन् । जव सिर्पाली वि.क. ले साँधे मन्छाउछ मान्दा वित्तिकै पाती,फुलले हान्छन् र साँधे गाउँको वाटो हुँदै लैजाने क्रममा गाउका धुईसो, कुलपुजा वेला ढोकामा लगाएको टिका, आफ्नो पितृलाई चढाएको मकै, नाङलोभरी वनाएर तयारी अवस्थामा वसेका गृहिनीहरुले वलि दिन लागेको साँधेलाई हान्छन् । जस्को अर्थ घरको कालकष्ट रुघामुघा सन्चो होस भन्छन् । यसरी वलि दिने ठाउँमा लखेत्दै पुगाउछन् र वलि दिन्छन् । कुनै गाउँमा वोके कुनै गाउँमा सुंगुर कुनै गाउँमा भाले वलि दिन्छन् भूमी देवतालाई । कुनै गाउँमा जेठ मसान्त र कुनै गाउँमा असार एक गते वलि दिने चलन छ । यसरी लगातार एक हप्ता सम्म भूमे नाच नाचीन्छ ।


राँगु पोनको वाहुल्यता भएको यस ठाउँमा मगर राजालाई भुरे राजाहरु आएर वंश नाश गरिदिन्छन् । त्यही मगर राजा थानी भएर प्रेतको रुपमा मानवलाई लागेको वा असर गरेको पाईन्छ । एक रोका मगर कम्फू रम्मा झाँक्रीको उत्पत्ती संगै खेतको मुनीको छहरामा वलप हुन्छ । केही समय वसोवास गरेको यस ठाउँमा गर्मी र उव्जनी हुने भएकोले माथी भूईचाले लेकको मुनी आफ्नो वस्ती विस्तार गर्छन् । सीमवाट आफ्नो वस्ती सार्नुको कारण एउटा गर्मीका कारण औलो लाग्ने र अर्को उव्जनी हुने भएकोले खेती गर्न उचीत थानेर आफ्नो वसाई सार्छन् । सीमको छेउमा रहेर आफ्नो वस्ती विस्तार गरेको कारण सीमवाट सीमा गाउँ नामाकरण भएको भन्नुहुन्छ सीमाका जान्कारहरु ।
विभिन्न आजापुजाको साथ भूमी देवतासंग पानि मागे । यसरी पानि मागे पछि श्रावणको पहिलो हप्तामा पानि पर्छ । श्रावणको ५/६ गते भित्र खेत रोपाई सकिएपछि श्रावणको १५/१६ गते खेत हरियाली वन्छ । यसरी खेत हरीयाली वनेपछि गाउँको मुखिया र वुद्धिजीवि जम्मा भएर भूमी देवता मान्ने सल्लाहका साथ श्रावण महिनाको १५-२२ गते जुन दिन आईतवार पर्छ त्यही दिन हरीयाली पर्व भूमे पुजा गरि मनाउने निधो गरि आजापुजाका साथ यो पर्व कालान्तर देखी मान्दै आएको मानिन्छ ।
१५ गते देखी २२ गते सम्म आईतवार आउने शुरु हुँदाको पहिलो दिन अथवा शनिवार पुजा गर्नलाई रोटी नानावाना तयार वनाउछन् । गाउँको प्रत्यक घरमा तयारी हुन्छ । गाउँको पन्च घरमा भने जम्मा भएर रमाईलो गर्दै रोटी र नाना वाना वनाउछन् । नानावाना भन्नाले धनुषवाण, मटेङग्रा, ढ्याङ्ग्रो, गजा, सर्प, विछी, मुसा , विरालो आदी वनाउछन् । पुजा गर्नु पहिलो दिन प्रत्यक खेतमा भोकर गाड्ने चलन छ जुन मिहेल रुखको हुन्छ । भोकर अथवा थारम गाड्नुको कारण भोली पल्ट हुने पुजामा थानी थर्की र भूत प्रेतले असर नगर्नु र वालीनाली राम्रो होस भन्नु नै हो । भोकरमा भुजु चारे ढुङ्गा र कालो धजाका साथै जुली धजा राख्ने चलन छ । अन्य ठाउँमा भोकरलाई थारम भनेको पनि पाईन्छ । शनिवारको दिन प्रत्यक वीच खेतमा भोकरले खेत सजाएको हुन्छ ।
केही समय पछि भूमी देवता संग वर माग्ने चलन छ । कसैले आफैले गाउँका पुजारी वा वुद्धिजीवि कहाँ वर माग्छन् भने कसैलाई माग्न लगाईन्छ । उतातिर गाजावाजा वजेको हुन्छ । वर माग्दा साथ वर दिने व्यक्तिले फुल पाति लगाएर आफुले सोचेको पुगोस भनि आशिर्वाद दिन्छन् ।माग्नेलाई वोकेर घर सम्म ल्याउछन् । यसरी कसैले आफ्नो कोलखवाट छोरा छैनन् भने छोरा वर माग्ने र सन्तानै छैनन् भने सन्तानको वर माग्ने चलन छ यसरी वर मागेपछि पुरा हने कुरा पनि वताउनु हुन्छ वुढापाकाहरु ।
गाउँमा पुगेपछि खानपान गरेर घरवाट आफ्नो मौलिक पोषाकमा सु-सज्जित युवा युवति वुढा वुढी सवै नाच्नलाई निस्कन्छन् । यसरी हरियाली पुजाको उपलक्षमा ३ दिन सम्म नचारु, पैशरु, खन्जना, फाँक नाच्ने प्रचलन छ ।
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व भूमे गाउँ पालिकाको एक सुन्दर गाउँ हो लुगुम | अधिकांस मगर जातिको बाहुल्यता भएको यो बस्तिमा केहि दलित अनि गुरुङ को पनि बसोबास रहेको छ | आफ्नै भाषा अनि मौलिक संस्कृति जस्ता छुट्टै पहिचान बोकेको यो गाउँमा, आफ्नै बेग्लै किसिमको परम्परा अनि रितिरिवाजहरु पनि रहेका छन् | येही र यस्तै किसिमको परम्परा बिच झाक्री पर्ब पनि एक हो |
सामान्य अर्थमा परम्परागत रुपमा झारफुक गरि बिरामी निको पार्ने व्यक्ति भन्ने बुझिन्छ | तर यहा झाक्री निको पार्ने व्यक्ति मात्रै होइन इतिहास बोक्ने बुद्धिजीवि को रुपमा पनि लिइन्छ | लुगुम गाउँमा सयौ को संख्यामा झाक्रीहरु रहेका छन् | यहा पुरुष मात्रै नभई महिला झाक्रीको संख्यापनि उत्तिकै देख्न सकिन्छ | यो भन्दा अझै चाखलाग्दो त के छ भने, धेरै लामो समय देखि यहाको गाउँमा झाक्रीहरुको मेलानै लाग्ने गर्दछ, जसलाई झाक्री पर्ब पनि भानिन्छ |
२१औँ शताब्दीको उत्तरार्धमा पनि यो ठाउँमा झाँक्रीहरुको अस्तित्व रहनु बाहिरी दुनियाँका लागि अनौंठो हुन सक्ला तर यो ठाउँका लागि यो एउटा परम्परा हो, इतिहास हो, पर्व हो। साउने संक्रान्तिलाई अठार मगरात क्षेत्रमा तिवार/राँखे पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन् । यसै अवसर पारेर पुर्वी रुकुमको लुगुम गाउँमा हरेक बर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ त्यसै बारमा सबै थरका झाँक्रीहरू मिलेर ज्या: पलेन्ये रम्मा राम अर्थात भूत निकाल्ने झाँक्री उत्सव मान्ने गर्दछन् । जम्मा भएका झाँक्रीहरूले एक अर्काको ग्रहदशा फार्ने, हेराहेर गर्ने गर्दछन् भने गाउँका युवायुवती, राम्चेहरू र झाँक्रीका चुम्मी वा भान्जाहरूका बिचमा एकअर्कालाई सिस्नो हानाहान गरेर अति रमाइलो गर्ने गर्दछन् ।
किम्बदन्ति अनुसार पौराणिक कालमा एक ’काना सुरपाङ्खे’ नामक प्राकृत प्रेत आत्मा थियो । सो प्रेत आत्माले यो ठाउँ भएर आवतजावत गर्ने मान्छेहरूलाई सताउन थाल्यो । धेरै नै सताउन थालेपछि दिक्क भएर त्यसबेलाका घर्तिको शाखा र सिंजाकोट बाट आएका दर्लामी पुनले सो प्रेत आत्मालाई गाढ़ेका थिए । किरखोलाको किनारमा पर्ने मःझेरबाङ भन्ने स्थानमा त्यो आत्मा गाढ़िएको थियो । पछि त्यसलाई त्यहाँबाट निकालेर ठूलो लुगुम गाउँको खालीखोला किनारमा ल्याइ राखियो । आइन्दा कुनै पनि प्रकारले मानव आत्मालाई दुःख नदेओस् भनेर निगरानीमा राख्न ठूलो गाउँको नजिक सारिएको विस्वास छ । यही प्रेत आत्मालाई विचरण गर्न र गरिएको सर्त पुरा गरि वशमा पार्नलाई यो झाक्री पर्ब मनाइने गरिन्छ |
प्रक्रिया सुरु हुन्छ साउन १ गते बाट, लुतो फाल्ने दिन, राँका बालेपछि मौन अवधि सुरु हुन्छ । राँका बालेको दिन मकै, काँक्रो, फर्सी, सिमी, तामा लगायत घरमा उब्जाइने तथा जंगलमा पाइने खाद्य बालीहरू चढाउने गरिन्छ । खाम भाषामा राखे को पनि आफ्नै अर्थ रहेको छ । रा को अर्थ आगो र खे को अर्थ फाल्नु हो । यसरी यो दिन आगो बालेर प्रत्यक घरकाले फाल्ने गर्दछन । यो राँके प्रथाको महत्व लुतो फाल्ने एक रहेको छ भने अर्को चाही प्रेत आत्मा लाइ कम्जोर बनाउन पनि रहेको छ ।
त्यसको केहि समयपछि झाक्रिहरु बर्छा अर्थात् टेकाउने लिएर आउने गर्छन | झाक्रिहरु पहिले झाक्री पोशाक अर्थात छेर्ला नलगाएर नाच्ने गर्दछन | यसरी ९ फान्को नाचिसके पछी झाक्री पोशाक अर्थात छेर्ला लगाउने गर्छन | छेर्ला लगाएपछि तन्त्र मन्त्र गरि पित्रलाइ बोलाउने गरिन्छ र पित्र आत्मा आइसकेपछि झाक्री हरु काम्न थाल्छन | तेस्पछी एक अर्काले पिठ्युमा बोकी ग्रह दशा शान्त पर्ने गर्दछन | यति प्रक्रिया पुरा भएपछी फेरी ९ फन्का नाचिन्छ |यही दौरानमा सिस्नो हान्ने पनि गरिन्छ | सिस्नो हान्नु भनेको शरीरमा रहेका अदृश्य भूतप्रेतलाई धपाउनु हो त्यसैले कोही कसैलाई हानियो भने पनि रिसाउने गरिदैन् ।
नौ फन्का पुरा गरेपछि खाली खोलामा राक्से (भूत प्रेत) निकाल्न जान्छन् । त्यसका लागि मुख्य झाँक्रीले आफ्नो मन्त्र बाचा सहित उठाउन जान्छ । मन्त्र बाचा बिना उठाउन गएमा भुतप्रेतले झम्टिने भएकाले पाको झाँक्री मात्रै आफ्नो मन्त्र बाचा सहित जाने गर्दछन । खोलाबाट राक्से निकालेर आएपछि राक्षशको टाउकोमा सुरा ठोकिन्छ । मुख्य पालो पाएको झाँक्रीले राक्से निकाली दगुरेर गाउँ छिचोल्दै पश्चिमको झोलेनी बिसौनामा आएर बस्छ । मुख्य झाँक्री दगुर्दै आएपछि पछाडि पछाडि सबै झाँक्रीहरू पनि दगुरेर गाउँ पस्छन् । त्यसबेला हेर्ने दर्शकका लागि पनि मनोरम र उत्साहित दृश्य देखिन्छ ।
झाँक्री पर्बको भोलिपल्ट जुम्जुते हुन्छ । जुम्जुतेमा माटो निकाल्ने, रगतको बलि चढाउने लगायत कडा काम गर्नु हुँदैन र टाढाको यात्रा समेत गर्नु हुँदैन भन्ने बिश्वास रहेको छ । टाढा टाढा बसाइ सरेर गएका लुगुम्यालहरू मेला हेर्न आए भने जुम्जुतेको दिन फर्केर घर जाँदैनन् । सो दिन गाउँमा हिलो खेलेर बस्ने गर्छन् ।